बागलुङ बडिगाडका पहिरो प्रभावितलाई माओवादी केन्द्रको आर्थिक सहयोग
बाग्लुङ | भदौ २, २०८१
गण्डकी: बागलुङको बडिगाड गाउँपालिका–९ र १० का पहिरो प्रभावित परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), बागलुङ र उक्त दलसम्बद्ध जनसङ्गठनहरूको पहलमा सङ्कलित रु दुई लाख १६ हजार आज पहिरो प्रभावित परिवारलाई वितरण गरिएको हो ।
माओवादी केन्द्रका केन्द्रीय सचिव एवं बागलुङ–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेललगायतको उपस्थितिमा पहिरो प्रभावितलाई राहत रकम वितरण गरिएको हो ।
पहिरोमा परी मृत्यु भएका ११ जनाका परिवार र बेपत्ताका एक परिवारलाई जनही रु १३ हजार, सख्त घाइते दुईजनाका परिवारलाई जनही रु १० हजार र घर पूर्ण रूपमा क्षति भएका चार परिवारलाई जनही रु १० हजारका दरले आर्थिक सहयोग प्रदान गरिएको उक्त दलका जिल्ला संयोजक राजीव घिमिरेले जानकारी दिनुभयो ।
पहिरो प्रभावितको राहतका लागि माओवादी केन्द्रको जिल्ला समन्वय समिति, नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठन, अखिल नेपाल स्वास्थ्यकर्मी सङ्घ, राष्ट्रिय कर्मचारी सङ्गठनलगायतले राहत रकम सङ्कलन गरेका थिए ।
नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठन, बागलुङले पहिरो प्रभावित परिवारका लागि गत साउन २५ देखि २९ गतेसम्म बागलुङ बजारका व्यवसायीबाट रु ५० हजार राहत रकम सङ्कलन गरेको सङ्गठनका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताउनुभयो ।
गत साउन २२ गते राति परेको अविरल वर्षापछिको पहिरोमा परी बडिगाड–९ बलघाँस र १० आरुपाटामा ११ जनाको मृत्यु भएको थियो भने एकजनाको अवस्था अझै अज्ञात छ । पहिरामा चार घर पूर्ण रूपमा क्षतिग्रस्त बनेको र ६२ परिवार पहिरोबाट प्रभावित भएका छन् । विस्थापित परिवारले गाउँको विद्यालय भवन र छिमेकीकोमा आश्रय लिइरहेको जनाइएको छ ।
राहत वितरणका क्रममा प्रतिनिधिसभा सदस्य पौडेलले बाढी प्रभावित परिवारको राहत तथा दीर्घकालीन पुनःस्थापनाका लागि सक्दो पहल गर्ने बताउनुभयो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

